कविता: दुईजोर जुत्ता
छोरो, श्रीमतीको रहर
पुर्याउन रानीहार किनिदिन्छ,
तर आमाको तिलहरी वैंकमा
राखेर ऋण तिर्दो रहेछ।
शसुरालीको साखुल्ले बन्न, शसुरा बा' लाई
यसो सानो कोशेली है भनेर,
झिलीमिली कागजले बेरेर जुत्ता उपाहार दिन्छ,
अनि आफ्ना बाबुका घिस्रिएका,
तलुवा खुईलिए नै पनि,
जन्त जाँदा लाउन हुन्छ भनेर,
भद्र भलाद्मी बस्दा खुट्टा लुकाउनु नपरोस भनेर,
वषौँ देखि आमाले साचीदिएका बा' का
चम्राका जुत्ता लगाईदिदो रहेछ ।
सबै आमाका रहर सबै बा' ले कहाँ
पुर्याउन सक्नु,
त्यही छोरालाई राम्रो नाना किनिदिन,
त्यही छोरालाई मिठो मसिनो खुवाउन,
त्यही छोरालाई गतिलो विद्यालयमा पढाउन,
अनि त्यही छोराको बिहेमा
दश गाँउ थर्कने गरी बाजा बजाउन,
१० औटा खशी ढालेर इष्टमित्रलाई चखाउन
जोगांउदा जाोगांदै, साँच्दा साच्दै,
बा र आमाका रहर अनि सपनाहरु सकींदो रहेछ ।
तर प्रकृती ! कस्तो अचम्म छ, जब छोरो बा' बन्छ
बुहारी आमा बन्छे, अनि सोच्छे,
यो छोरो, किन छोरी जस्तो बन्न सकेन
आमा, खाना खाएउ, भनेर सोध्न सकेन,
आमा, के लाउने की भनेर छोरीले सोध्थी
बा' लाई नयाँ डिजायनको आएछ भनेर
घरमा लाउने चप्पल, र बजार जाने
जुत्ता
अलग्गै अलग्गै दुई जोर किनिदिन्थी ।
लेखकः मञ्जु मिश्र
ठेगानाः काठमाण्डौ
Comments
Post a Comment