१९० मिस्ड कल- २

अन्ततः उसले निधो गरेको थियो। सायद मैले पनि आफुलाइ खुल्ला छोडिदिएको थिए। उसको मग्न हुन थालेको थियो मेरो मन। उसको मनमा के थियो खै, आफ्ना निन्द्राहरु सजिलै मेरा मानस्पटलमा सुम्पिएको थियो। कैले भन्थ्यो "आज त प्राक्टिस्मै निदाएछु।" अनि कैले भन्थ्यो "कोचले आज रातभर के गरेर आउछ भनेर हकार्यो। " कैले भन्थ्यो आज जिउ सारै दुखेको छ अनि कैले भन्थ्यो तिमिलाई भेटेर कति कुरा सुनाउनु छ।उसले जे जे भन्थ्यो, मेरा निम्ति स्वर्णिम भन्थ्यो। उसका हरेक शब्द म जादुमय पाउथे। 


बिहान खाना खाइओरी म साइकल सफा गर्दै थिए। मलाई अफिस जानू थियो। १० बज्नै आटेको थियो। अचेल मेरो उठ्ने सुत्ने टायमटेवल उसैको जस्तो भएको थियो। उठ्दा उठ्दै अफिसको चटारो। दुइपाङ्रे साइकलमा मोटर्को पाइपले छिर्‍र्‍अ पार्दै गर्दा झ्यालको छेउमै राखेको मोटोरोला फोन बज्यो। बिनासर्त यो उसैको फोन हुनु पर्थ्यो। अहो कति गर्न सकेको फोन? सुनन, म आज महेन्द्रनगर आउदैछु। बसको टिकट नि लिसके। ''भोलि बिहान पुग्छु, पर्सि सम्म हाम्रो भेट हुन्छ। ''

मलाई पर्सि पर्खनु नै थिएन या फेरि मलाई पर्सिको आवस्यकता नै थिएन। उ मेरो अन्तस्करणमा मिसिइसकेको थियो। मेरा हरेक सासका आहठहरुले उसको सुगन्धको मात फोक्सो भित्र कैले देखि हो हुलिसकेका थिए। म अफिस जाँदै छु, निस्किदा म्यासेज या कल गर्नु ल भन्दै, साइकल हुइक्याउदै उत्तर बेहडिको गल्ली गल्ली हसनपुर पुगेको मैले चाल नै पाइन। 

उसको पर्शी मेरा लागी आज बनिदिएपनि हुन्थ्यो नी ? म यस्तै सोच्दै कम गर्न थाले । अफीसको कम्पूटरमा खै के के टाइप हुन्थे, ति डकुमेन्टस् बन्थेकी बन्दैन थिए हेक्का रहेन । 

त्यसदिन बैशाख महिनाले ३ गते बनाईदिएको थियो । उ पनि महेन्द्रनगर आईसकेको थियो । आजका हाम्रा कुरा भोली भेट्ने अनि के- के गर्ने मा सिमीत थिए । 

'म कस्तो छु थाह छ ?' उसले सोध्यो । 

नाईं कसरी थाह हुनु नदेखेको मान्छे । मैले उत्तर दिएं । 

'मलाई कहिले देखेकै छैनौ है ?'

कसरी देख्नु त मैले भने । तर उसलाई मैले मेरा आखाँहरु चिम्लदाँ धेरै पटक देखेकी थिए । मेरो कल्पनामा उ सधै सजीव थियो । चकचके हुन्थ्यो कुनै बेला अनि कुनै बेला भद्र भलाद्मीपनि बनि टोपल्थ्यो । उ मलाई भन्थ्यो 'म त भुत जस्तो छु नी ?'

अं, हो उ भुत जस्तै थियो, रातभर जाग्राम राख्थ्यो मलाई । उसका कुराका भाँतीभाँतीमा मलाई अल्झाईरहन्थ्यो । म पनि अल्झी रहन्थे । मिठो लाग्थ्यो त्यसरी अल्झीन पनि । 

आज बैशाख ४ गते थियो । यानेकी उसले मलाई भेट्छु भनेको दिन । मलाई कता कता लाज, कता कता डरको समीश्रणले तड्पाईरहेको थियो । म घर भरी मेरा लुगा खोज्दै थिए । के लाउनु ? उसलाई के मन पर्छ ? थाह थिएन । 

कसैलाई पहिलो पटक भेट्नु पनि युद्ध गर्नु जस्तै हुदो रहेछ । म आफ्नै सुझबुझ संग युद्ध गर्दै थिए । यो युद्ध कुन लुगा लगाउनु भन्नेमा बढी केन्द्रति थियो । अन्ततः मैले युद्ध जिते । मनले भन्यो उसलाई इम्प्रेश पार्ने लुगा होईन मेरो स्वच्न्दता हुनुपर्छ । 

धनगढीको बसपार्कमा आएर उसले मलाई फोन गर्यो । 'म त आईपुगे खै तिमी ?' मैले यता उता गरेर हेरे, निलो रंगको डिस्कोभरी मोटरसाईकलमा एकजना लक्का जवान मलाई पर्खीरहेको थियो । एकछिन उसलाई हेरीमात्र रहे । उसले फेरी म्यासेज गर्यो, कसरी चिन्नु मैले? कस्तो लुगा लगाएकी छौ ? मैले उसलाई देखीसकेको थिए । उसलाई चिन्न मैले उसको पहिरन सोध्नु पर्ने भएन । 

एकैछिन है मैले उसलाई फोन राख्न लगाए । 

हात माथी उचालेर आफ्ना काखीमा सुंघे, कोब्राको परफ्युम नाकमा ठोकीयो । त्यसपछि कपालका केही पोइन्टहरुलाई निधारमा ल्याएर मिलाए । मोबाईलको सानो स्क्रीनमा हेरे आफूलाई ठिकै छु भन्ने भयो । अनि फोन गरे, डिस्कोभरी बाईक हो नी ? उ हास्यो । म उसले हासेको सुन्ने ठांउमै थिए । 'मान्छे' । उसले यति भन्यो । आउ बस न जांउ कतै ? 

कहाँ जाने ? मैले सोधे । न कुनै हाई हेल्लो न नमस्कार । कति सजिलैसंग तिमी भन्छ ऊ ।

धनगढी तिम्रो ठाउँ, म कसरी भनु ? उ अनकनायो । 

जोखर ताल ? मैले प्रस्ताव राखें । 

कैलाली बहुमुखी क्याम्पसमा पढ्दा देखीनै म जोखर तालको पारखी थिए । धेरै पटक कलेज वंक गर्दै हामी त्यहाँ जाने गरेका थियौं, म र मेरा कलेजी साथी । जंगलको विचमा रहेको यो ताल प्रेमी जोडा जोडीहरुको गोप्य र रमण्ीय डेटींग स्पट बनेको थियो । धनगढी गर्मीलाई जंगलको हावाले केही सितलता दिन सक्थ्यो । मेरो प्रस्तावमा उसले मोटर साईकलको ह्याण्डील पूर्व तिर मोड्यो । 

एकै छिनमा हामी जोखर तालमा पुगीसकेछौं । 

म शैर कल्पनामा मन्त्र मुग्ध थिएं । सायद उ नै विचरण गरीरहेको थियो होला की । मधुरो स्मृतीमात्र छ अहिले । तर बाटो भरी हामी एक अर्कासंग बोलेनौ । सायद उ पनि केही सोच्दै थियो होला । 

पाकींग लटमा मोटरसाईकल पार्क गर्दै गर्दा मैले उसको बाईकलाई हेरे. । अह त्यसका कन्केभ र कन्भेक्स दुवै मिरर थिएनन् । एक किसिमको वुच्चो थियो त्यो । 

हेलमेट निकाल्दै उसले मलाई एकछिन बोकीदिन आग्रह गर्यो । मैले बडो जतनले बोकीदिएं । मनमनै लाग्यो उसले त्यो हेलमेट किन मलाइ बोक्न अर्हायो होला? म गम्दै थिए । 

अव कहाँ जाने ? उसले  सोध्यो । 

अलीक पर, खरले छाएका प्रतिक्षालयहरु थिए । मैले त्यतैतीर इशारा गरें । उ आज्ञाकारी वालखझैं त्यतै तीर लाग्यो । तर हेलमेट आफुले मागेन । म त्यसलाई हल्लाउंदै हल्लाउंदै पछी पछी हिंडे ।

एक किसिमले भद्र थियो उ । या फेरी भलाद्मी बन्ने कोशीश गर्दै थियो । 

पटक्कै उछ्रींखल लागेन मलाई उसको आनीवानी । 

काठ ओच्छ्याएका फल्याकमा हामी बसेंउ । गर्मीको रापले उसको कानका लोतीहरुबाट पसीना झरीरहेका थिए । उ साँचीक्कै असीनपसिन भएको थियो । अलि कती दुरी राखेर उसले आफ्नो मोवाईल हेर्यो । 

मलाई भने उसले आफ्नो मोवाईलमा मेरो नम्वर के भनेर सेभ गरेको रहेछ भनेर हेर्ने जिज्ञाशाले बस्न खान दिएन । 

उकुसमुकुस हुंदै थिएं म ।

अनि आफ्नो मोवाईल झिकेर  फ्याट्ट फोन लगाए । फोनका रिंग बजेपछि उसले मुस्कुराउंदै मलाई स्किृन देखायो । मैले आफ्ना् नाम पढें । 'बाबू कलींग । '

अहो म छांगाबाट खसे जस्तै भएं त्यसवेला । वा फेरी म आकास छुन खोज्दै थिए । थाह छैन । मेरो दिल जित्न उसले यो भन्दा अरु के नै गर्न सक्थ्यो होला र ? यत्तिले नै मलाई उसको दुरी सहिनसक्नु बनाएको थियो । बस् म अगाडी बढ्न चाहँदीन थिए । हुन्छ नी त्यो केटीवाला इगो । उसैले गरोस जे गर्नु छ । तर उसले केही गर्ने छाँट देखाएन । 

आफै सोध्यो, 'कीन फोन गरेको ? म त यहीं छु त । '

होई, मलाई के नामले मेरो नम्वर सेभ छ भनेर हेर्नु थियो । 

'मलाई संका त लाग्दै थियो ।' उसले आफूलाई दुरदर्शी बनायो । हामी हास्यौं मात्र । 

उसले हाफ्ना कपालहरुलाई सिनित्त कोरेको थियो । छोटो कपाल अलि अलि घुंग्रीएको जस्तो मात्र । 

ती केशहरु चलाईदिदा कस्तो आनन्द आउथ्यो होला ? मनले एक तमाशले उसका केशहरु छुन्न अर्हाईरहेका थिए । बस् हातहरु अघी बढेका थिएनन् । 

निकैवेर बसीसकेपछी हामीले एक अर्काबारे सोध्यौं ।

'तिम्रो उमेर कती वर्ष भयो ?' उसले सोझै प्रश्न गर्यो । 

म असमञ्जसमा परें । स्त्रीलाई उमेर कती हो भनेर सोध्न सक्ने हिम्मत उसले कहाँबाट जुटायो होला ? 

मैले उत्तर नदिनु आफ्नो भूल हुन्छ जस्तो लागेर भनिदिएं ।

२० वर्ष पुगे अस्ती फागुन देखी । १९ पुगेर २० ।

मैले उसलाई नढाँटी भनिदिएं । 

'म पनि २० पुगेको अस्ती कार्तीक देखी ।' उसले पनि उमेर साफसंग भनिदियो । 

कस्तो कातीक्के कुकुर , नभनौ भन्दा भन्दै बोलीहाले ।

उसले लजाँउदै भन्यो, 'कात्तीकमा म जन्मनु मेरो गल्ती हो त ?' उ फुर्कीयो । म हाँसे । 

कात्तीकमा जन्मेको कुकुर, अनी चैत्रमा जन्मेको वाँदर । मैले स्पस्टीकरण दिन उचित ठाने । 

लाज पचाएरै भएपनि एकपटक उसकाृ कपाल मुसारे । मैले सोचे जस्तो नरम थिएनन् । बरु अररा डण्डी जस्ता आभाष भए उसका केशहरु । आम्मामा कति सारो कपाल, मैले हात हटाउंदै भने ।

जेल लगाएर हो, त्यसै माथी हेलमेटले झन च्यापीयो । उसले जवाफ फर्कायो । मलाई त्यो बेलासम्म जेल लगाांदा कपाल सारो हुन्छ भन्ने थाह रहेनछ । उसको कपाल चिप्लो लागे पनि रुखो थियो । यद्धपी मैले उसलाई आफ्नै हातले सुम्सुम्याउन पाएकोमा मन पुलकीत हुंदै थियो । 

फर्कदाँ, उत्तरवेहडी नजिकै पिलको रुख निर रोकेर उसले मलाई मोटर साईकलबाट झर्ने इशारा गर्यो । त्यो पिपल बडेमानको थियो । त्यसका पातहरु भुईभरी यत्रतत्र छरीएका थिए । छेउमै वरको सानो रुख थियो । बर र पिपलमा मैले अहिलेसम्म बर सानो र पिपल ठुलो देखेको छु । बर र पिपलको विचमा मानीसहरुले आफ्नो आस्थाको मन्दीर बनाएका रहेछन् । उसले बिदा माग्ने शुर गरेको थियो । मलाई उ यत चाँडै नगईदिएको भए अझै केही मिठा करा गर्ने शुर थियो । तर बेलुकाको पाँच बज्दा पनि नगए उ समयमा घर पुग्न सक्दैन थियो । मैले रोक्ने हिम्मत गर्न सकिन। 

उसले मोटरसाईकल बाट आफुँ नझरी भन्यो, 'कस्तो भयो त आजको दिन? '

राम्रै, मैले उत्ताउलीएर भने । 

'उसो भए, अर्को पटक पनि भेट्ने ? 'उसले पनि उत्साहीत हुदै भन्यो ।

उम, अवस्य सरकार । उसलाई सिंडी चढाउन मन लाग्यो मलाई पनि ।

अनि आफ्नो पाईन्टको गोजीबाट एउटा सामान निकालेर म तिर बढायो ।' सानो छ, सम्झीएर ल्याईदिएको ।'यसो हेरे गोल्डेन रंगो घडी थियो । मेरो खुशीको सिमा रहेन । मैले केही नवोली स्वीकार गरे । 

कस्तो छ सोध्दै नसोधी उसले मोटर साईकल चलाएर गयो ।

मलाई एकचोटी छेउमै भएका भगवानलाई धन्यवाद भन्न मन लाग्यो । हात जोडेर नमस्कार गरें । केही पिपलका पातहरु मन्दीरमा चढाईदिए । लाग्यो यो घडीले अव तिमीहरु दुईको समय आज देखी एउटै भयो भनेर मलाई बताईरहेछ । 


Comments

Post a Comment

Popular posts from this blog

सेलेनोफाइल-SELENOPHILE

त्यो अनार्कषक पुरुष